काठमाडौं । अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ । चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ भने यो लघु चलचित्र कवि नवराज पराजुलीको कविताबाट उत्प्रेरित भै चलचित्र बनाएको कलाकार खनालले बताए ।
कोरोना महामारीको कारण केही सीमित व्यक्ति र परिवारहरु चलचित्र हेर्न आमन्त्रित गरिएको थियो । चलचित्र हेर्ने आउने सबैको तापक्रम लिइएको थियो भने भर्जिनियाको गभर्नरले दिएको मार्गदर्शन अन्तर्गत दूरी कायम तथा मास्क (मुखावरण)लगाएर आएका थिए ।
एक महिनाको लागि परिवार भेट्न अमेरिका आएका कलाकार ५ महिना बस्नु परेको अवस्थामा खनालले नेपाल उड्नु अघि अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरुलाई ‘छाउ पीडा’मा अभिनय गराउन सफल भएका छन् ।
चलचित्र बनाउनु चुनौती थियो र केही भाषा त्रुटि हुन् सक्छ कारण , कहिले अभिनय नगरेका र नेपाली भाषा सम्म राम्रो बोल्न समेत नजान्ने बालिकाहरुलाई अभिनय गराउनु थियो । तरपनि खनालले चलचित्रमा बालिकाहरुले गरेको अभिनय देख्दा निकै नै भावुक हुन्छु भनेका छन् ।
केसी डान्स सेन्टरको ब्यानर(निर्माण)मा निर्माण भएको पहिलो लघु चलचित्र छाउ पीडा हो । सन् २०१७ मा स्थापित केसी डान्स सेन्टरका संस्थापक नृत्य निर्देशकद्वय नविन केसी तथा लुना श्रेष्ठ हुन भने यस चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरु यसै नृत्य केन्द्रका शिष्यहरु हुन् ।
उक्त चलचित्रमा कलाकारहरुमा अङ्किता कोइराला,रोमा भण्डारी, दिप्ती अधिकारी ,आयुषा ढकाल ,रिया श्रेष्ठ तथा रिचा ढकाल रहेका छन् । आमाको भूमिकामा रिमा केसी तथा रुबिना प्रजापति श्रेष्ठले अभिनय गरेका छन् ।
चलचित्र केसी डान्स सेन्टरको युट्युबमा सार्वजनिक हुनेछ । कार्यकम प्रस्तोताको भूमिका परशु तिमिल्सिनाले गरेका थिए ।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments