काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएका कलाकारद्वय अक्षय कुमार र सोनु सुदलाई सर्वोच्च नागरिक पुरस्कार ‘भारत रत्न’बाट सम्मान गर्न माग उठेको छ। महामारीविरुद्ध धेरै कलाकारले सहयोग गरे पनि अक्षय र सोनु अग्रपंक्तिमा छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दर्शकहरुले अक्षय र सोनुलाई भारत रत्न पुरस्कार दिन माग गरेका छन्। ट्वीटरमा त फ्यानहरुले पुरस्कारका लागि अभियान नै चलाएका छन्। दुबै जना रियल हिरो भन्दै भारत रत्नका लागि योग्य भएको जिकिर गरिएको छ।
त्यसो त अक्षय हरेक आपत विपतको बेला सहयोगको हात अगाडि बढाउँछन्। बाढी पीडित, शहिदका परिवारलाई सहयोगदेखि कोरोनाविरुद्धको लडाईमा प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोगसम्म उनले गरेका छन्।
उता सोनु पनि कोरोना महामारीमा सहरमा फसेका प्रवासी मजदुरलाई घर पठाउन सक्रिय छन्। बसको व्यवस्था गरेर घर पठाइरहेका छन्। आफ्नो होटलमा मेडिकल कर्मचारीका लागि ठाउँ दिएका छन्। यसका अलावा पञ्जाबका डाक्टरलाई १५ सय पीपीई किट्स पनि दिएका छन्। सोनुको कामलाई राजनीतिज्ञले पनि प्रशंसा गरेका छन्।एजेन्सी
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments