काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लण्डनमा हुने भनिएको थर्ड आई टिमको अवार्ड कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । थर्ड आई टिमले मे २४, २०२० (जेठ ११) मा लण्डनमा आयोजना गर्न लागेको मनोरञ्जन, खेल, पत्रकारिता, साहित्य र लाइफटाइम अचिभमेन्ट विधाको अवार्ड केही समयका लागि पछाडि सारिएको हो ।
अवार्डमा सहभागी हुन नेपालबाट केही कलाकारहरु लण्डन पुग्ने तयारीमा थिए । यो अवार्डले नेपाल सरकारको पर्यटन प्रवद्र्धन अभियान ‘भिजिट नेपाल २०२०’ लाई पनि सघाउने आयोजक टिमको विश्वास थियो । तर, कोभिड-१९ का कारण सरकारले भिजिट नेपाल कार्यक्रम समेत स्थगित गरिसकेको छ । लण्डनमा पनि कोरोनाको त्रास भएका कारण अवार्ड स्थगित गरिएको हो ।
यसअघि १०औँ ‘बक्सअफिस अवार्ड २०१७’ सम्पन्न गरेको थर्ड आई टिमले लण्डनमा फिल्म प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । अवस्था सामान्य बनेपछि अवार्ड आयोजना गरिने थर्ड आईका विकास देवकोटाले बताए । सम्बन्धित क्षेत्रको श्रीवृद्धि र सो क्षेत्रलाई विश्वले हेर्ने दृष्टिकोण सकरात्मक होस् भन्नका लागि अवार्ड गर्न लागिएको उनको भनाई छ ।
प्रकाशित मितिः २०७६ चैत्र ९ आइतबार
Comments