काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’ ले आक्रामक कमाई गरेको छ । निर्माणपक्षले नै उपलब्ध गराएको रिपोर्ट अनुसार चलचित्रले २ दिनमा २ करोड माथिको व्यापार गरेको छ । यो व्यापार आक्रामक हो ।
चलचित्रले प्रदर्शनको पहिलो दिन (शुक्रबार) एक करोड बाह्र लाख र शनिबार १ करोड ३५ लाखको कमाई गरेको छ । चलचित्रको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यो घोषणाका कारण पनि चलचित्रले हलमा दर्शकको ठूलो भीड तान्न सफल भएको अनुमान गरिएको छ ।
काठमाडौं र मोफसलका हलहरुमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ । मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको छ । चलचित्र ‘छ माया छपक्कै’पछि सुनसान सिनेमा घरमा चलचित्र ‘सेन्टी भाइरस’ रिलिज सँगै चहल बढेको हो ।
चलचित्र ‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ , कुञ्जना घिमिरे ‘सुन्तली’ दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल, सदिप क्षेत्री, पवन खतिवडा, अलिश राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रका गीतमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाले संगीत भरेका छन् ।
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments