काठमाडौं । तेलिगु सफल चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् ।
साउथ स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको थियो । यसै चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै सफलता हात पारेको थियो । बलिउड नायक साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।
ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएका चलचित्रको नेपाली रिमेक बनाउने निकै चुनौती पूर्ण काम हो भने यसले सुरुवात गरेको कार्य नेपाली चलचित्रलाई विश्व माझ पुर्याउने एक अवसर पनि हो ।साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र ‘सफर’ निर्माण भएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रका कलाकार लगायत अन्य टिमको बारेमा छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार
Comments