काठमाडौं । बलिउडबाटै फिल्मी यात्रा तय गरेका ६४ वर्षीय अभिनेता सुनील थापा ‘राते काँइला’ सलमान खान प्रोडक्सनको नयाँ फिल्म ‘क्वाथा’ मा खेल्दैछन् ।
थापाले खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने करीब पक्का भएको बताएका छन् । ३ वटा नेपाली फिल्मको छायांकन बाँकी रहेकाले जनवरीदेखि मात्र फुर्सद हुने बताउँदै उनले भने, ‘त्यसपछि क्वाथाको छायांकनमा व्यस्त हुन्छु ।’ ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ,’ थापाले भने ।
बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले ‘क्वाथा’ बाटै डेब्यु गर्न लागेकी हुनाले पनि यो फिल्म तीब्र प्रतीक्षित छ । करन भने भुटानीले निर्देशन गर्ने फिल्ममा आयुष शर्मा मुख्य भूमिकामा रहने छ । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’ मा थापाले त्यहाँको मुखियाको भूमिका गर्नेछन् ।
झन्डै ३ सय नेपाली फिल्म खेलेका यी अभिनेता सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट बलिउडमा प्रवेश गरेका हुन् । त्यसपछि तेलगु फिल्म ‘काश्मिर कादली’ मा अभिनय गरेका उनले त्यसलगत्तै बलिउडको अर्को अत्यन्त सफल फिल्म ‘एक दुजेके लिए’ मा अभिनयको अवसर पाए, जसले उनलाई बलिउडमा राम्रो नाम र पहिचान पनि दियो ।
तर लगत्तै नेपाली फिल्म ‘साइनो’ का लागि उनी काठमाडौं आए । त्यसयता उनी नेपाली फिल्ममा मज्जाले जम्न थाले ।
प्रकाशित मितिः २०७६ कार्तिक १७ आइतबार
Comments