काठमाडौं । आईफा अवार्डको रेड कार्पेटमा बलिउडका चर्चित अभिनेता सलमान खानले आगामी वर्षको ईदमा आफ्नो फिल्म रिलिज गर्ने कुरा सार्वजनिक गरेका थिए । हरेक वर्षको ईदमा सलमानले आफ्नो फ्यानहरूलाई आफ्नो नयाँ फिल्म उपहार दिने गरेका छन् ।
उनले फिल्म रिलिज गर्ने भने पनि फिल्मको नाम भने खुलाएका थिएनन् । अब भने उक्त रहस्यबाट पर्दा उठेको छ । भारतीय मिडियाहरूका अनुसार आगामी वर्षको ईदमा सलमानको ‘राधे’ नामक फिल्म रिलिज गर्ने भएका छन् । सलमानको नयाँ फिल्म ‘राधे’लाई प्रभू देवाले निर्देशन गर्ने भएका छन् ।
यसअघि ईदमा सलमानको आलियासँग जोडी बाँधिएको संजय लिला भंशालीको ‘इंशाअल्लाह’ ईदमा रिलिज हुने तय भए पनि फिल्म छायांकन जानु ठीक दुई दिनअगाडि आन्तरिक मनमुटावका कारण सलमानले सिनेमाबाट हात झिकेका छन् । फिल्मबाट हात झिकेपछि ईदको मिति सलमानको ज्याक्लिनसँग जोडी बाँधिएको फिल्म ’किक २’ ल्याउने अनुमान लगाईंदै आइएको छ ।
तर, ‘किक २’ का निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले ‘किक २’ लाई सन् २०२० को इदमा रिलिज नगर्ने आफ्नो स्पष्ट पारिसकेका छन् । सलमानले डिसेम्बरमा रिलिज हुन लागेको फिल्म ‘दबंग ३’को रिलिज अगावै ‘राधे’को केही भाग सुटिङ गर्ने भएका छन् । फिल्मका मुख्य कलाकारहरूको नाम भने खुलाइएको छैन ।
‘राधे’ फिल्म रिलिज हुने भएपछि सलमानको अक्षयसँग बक्सअफिस भिडन्त हुने निश्चित भएको छ । ईदको अवसर पारेर अक्षय कुमारले आफ्नो आगामी सिनेमा ‘लक्ष्मी बम’ रिलिज हुने घोषणा गरिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १३ सोमबार
Comments