काठमाडौं । बलिउडका चर्चित निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ को निर्माण स्थगित गरिएको थियो । फिल्मको रिलिज डेटसमेत आउँदो बर्षको इदलाई तय गरिएको फिल्मको छायांकन सुरु हुन केही समय मात्र बाँकी रहँदा निर्माण रोकिएको हो ।
अन्तिम समयमा आएर फिल्म नबन्ने भएपछि फिल्म किन नबनेको भन्दै विभिन्न कारणहरू सार्वजनिक भइरहेका छन् । पहिलोपटक बलिउडका चर्चित अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट ‘इन्शाअल्लाह’मा स्क्रिन सेयर गर्न लागेको खबरले बलिउडमा तहल्का नै मचिएको थियो । कतिपय मिडियामा फिल्मको मुख्य भूमिकामा रहेका अभिनेता सलमान खानले पारिश्रमिक धेरै मागेपछि सञ्जयले फिल्म बनाउन नसकेको चर्चा चलेको छ ।
तर, आइबीटाइम्स नामक एक भारतीय मिडियामा भने फिल्ममा अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टको लामो चुम्बनका दृश्यहरू रहेको कारण फिल्म निर्माण हुन नसकेको उल्लेख गरिएको छ । उक्त मिडियामा उल्लेख गरिएअनुसार फिल्ममा सलमान र आलियाको थुप्रै चुम्बनको दृश्यहरू समावेश गरिएको भएर सलमानले भने फिल्मका लागि किस सिन दिन अस्वीकार गरेपछि फिल्मको निर्माण स्थगित भएको हो ।
सलमान आफैँले पनि फिल्ममा फिल्मकी अभिनेत्रीसँग चुम्बन नगर्ने बताउँदै आएका छन् । सेप्टेम्बर अन्तिमबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा केही करान्वश फिल्मको निर्माणमा विभिन्न कुरामा असहमति उत्पन्न भएपछि सलमान र भन्सालीबीच आन्तरिक मनमुटाव हुन गइ २० वर्षपछि हुन लागेको भन्साली र सलमानको टिमअप टुटेको र फिल्मबाट सलमानले हात झिकेको खबर सार्वजनिक भएको थियो ।
भारतीय मिडियाका अनुसार, फिल्ममा सलमानले अभिनय नगर्ने भनेपछि अभिनेता शाहरुख खानको इन्ट्री भएको छ । सलमानले फिल्म छाड्ने बित्तिकै भन्सालीले शाहरुखलाई फिल्मको लिड रोलमा अप्रोच गरेका हुन् । आईबी टाइम्स इन्डियाका अनुसार, भन्सालीले चाँडै फिल्ममा शाहरुख अनुबन्ध भएको घोषणा गर्ने भएका छन् । तर, यसबारेमा केही पुष्टि भने भएको छैन । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार
Comments