काठमाडौं । फिल्म वीराङ्गना का प्रस्तुतकर्ता रघु परियारले नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा उनले ‘मन परेसी पर्यो पर्यो’ नाममा फिल्म बनाउने घोषणा गरेका हुन् ।
यो फिल्मको निर्माण गर्नु अघि रघु मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’को छायांकन अवधिभरसम्म निर्माताको रुपमा रहेका थिए । तर, ‘पोइ पर्यो काले’ फिल्मको निर्देशकसँगको मनमुटावका कारण फिल्मको छायांकन सकिएसँँगै उनले फिल्मबाट हात झिकेका हुन् । अब उनी लभस्टोरीमा आधारित रहेर फिल्म ‘मन परेसी पर्यो पर्यो’ बनाउनतिर ब्यस्त रहेका छन् ।
फिल्ममा लभस्टोरीका साथै कमेडी तथा एक्सनको पनिरहने निर्माता रघुले जानकारी दिएका छन् । तिहारपछि छायांकन सुरु हुने बताइएको फिल्मलाई ‘जय शम्भु’ निर्देशन गरेका निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने भएका छन् । रुपेशले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताएका छन् । फिल्मको मुख्य अभिनेत्रीका लागि अहिलेको चर्चित नायिका साम्राज्ञी आरएल शाहसँग कुरा गर्ने सोचमा निर्माण टिम रहेको छ ।
चक्र पाख्रिन तामाङको कार्यकारी निर्माता रहने फिल्ममा कृष्ण परियार र रवीना थापामगरले संयुक्त रुपमा निर्माण गर्ने भएका छन् । फिल्मका कलाकारको टुंगो केही दिनमै लगाइने निर्देशक रुपेशले बताएका छन् । फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको छ । फोर्थ आइज् मुभीज प्रालिको ब्यानरमा निर्माण हुने ‘मन परेसी पर्यो पर्यो’लाई यही वर्षको अन्त्यमा प्रदर्शन गर्नका लागि निर्माण टिम जुटिरहेको छ ।
Comments