काठमाडौं । ‘प्रेमगीत’ को सिरिजबाट युवापुस्तामाझ चर्चित अभिनेता प्रदीप खड्का अहिले ‘प्रेमगीत’ को तेस्रो श्रृंखलाको तयारीमा ब्यस्त रहेका छन् । शनिबार बिहान जिममा कसरत गरिरहेको उनले एक तस्बिर आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेका कारण अहिले प्रदिप निकै चर्चामा रहेका छन् । सार्वजनिक गरिएको तस्बिरमा उनको गरेको मेहेनत प्रष्ट देख्न सकिन्छ ।
‘प्रेमगीत’ सिरिज बाहेकका प्रदीप अभिनित अरु फिल्महरूले खासै सफलता हासिल गरेको छैन । आफ्नो खस्किएको स्टारडमलाई ‘प्रेमगीत ३’ ले उत्कर्षमा र्पुयाउने विश्वास भएको कारण प्रदीप केही महिनायता सुगठित शरीर बनाउनका लागि जिममा पसिना बगाइरहेका छन् । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा प्रदीप एक्सन अवतारमा देखिने भएका छन् । फिल्मका लागि प्रदीप अहिले हर्स राइडिङ, एक्सन ट्रेनिङ र शरीर आकर्षक बनाउन जिममा दैनिक घन्टौं समय बेतित गर्ने गरिरहेका छन् ।
फिल्ममा प्रदीप फेरि पनि प्रेमको भूमिकामा रहेका छन् । उनले एक योद्धा राजकुमारको भूमिका निभाउँदै छन् । नयाँ वर्षको छेको पारेर चैत्र २८ गते रिलिज गरिने तयारीमा रहेको छ । ‘प्रेमगीत’ को अघिल्ला दुई सिरिजमा चुलबुले र रुन्चे भूमिकामा देखिएका प्रदीपले यसपटक आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने बताएका छन् । फिल्ममा उनको बाल्यकालको भूमिका बाल अभिनेता अनुभव रेग्मीले निभाउँदैछन् । भने, पिताको भूमिकामा अभिनेता शिव श्रेष्ठ र भाइको भूमिकामा मनिष राउत रहेका छन् ।
फिल्ममा प्रदीपको जोडी नव अभिनेत्री क्रिस्टिना गुरुङ खड्कासँग बाँधिएको छ । दसैँबाट छायांकनमा जाने फिल्ममा प्रदीप, क्रिस्टिना गुरुङ, अनुभव, शिव र मनिषका साथै बालकलाकार समृद्धी शाही ठकुरी, रेग्मी, भिलेनको भूमिकामा निर्माता सेन, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणा तथा सुनिल थापालगायतका कलाकारहरूको अभिनय रहने भएको छ ।
आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् । ‘प्रेमगीत ३’को कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ३० सोमबार
Comments