काठमाडौँ । भारतीय कलाकार सलमान खानसहितको टोलीले काठमाडौँको टुँडिखेलमा आज गर्ने भनिएको द ब्याङ्ग टुर कन्सर्ट अनिश्चित कालका लागि स्थगित भएको छ। यसअघि १० मार्चमा हुने भनिएको कार्यक्रम एक पटक विप्लव समूहको चेतावनीका कारण स्थगित भएको थियो। त्यसपछि कन्सर्ट २६ मे अर्थात् शनिबारका लागि हुने कन्फर्म भएको सूचना ओडिसी इन्टरटेनमेन्टले गरेको थियो। त्यतिबेला आयोजकले जेए इभेन्टसको पत्रसहित कन्सर्ट निश्चित भएको प्रचार गरेको थियो। तर २६ मेको दिन नजिकिँदासमेत कुनै तयारी गरिएको थिएन र एक दिन अगाडि यस्तो सूचना जारी गरिएको हो।
कार्यक्रम हुने निश्चित भएको भन्दै सलमानका भाइ तथा आयोजक समेत रहेका सोहेल खानले केही समय अगाडि काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए। कार्यक्रमको बारेमा सलमान खान स्वयंले ट्विट पनि गरेका थिए। सन् १९९८ मा फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा गोली प्रहार गरी कृष्णसारको हत्या गरेको अभियोगमा सलमान खान दोषी ठहर भएका थिए। अदालतबाट दोषी ठहर भएलगत्तै उनी जेल परेका थिए। जोधपुर जेलमा दुई दिन विताएपछि उनलाई धरौटीमा रिहा गरिएको थियो।
सलमान खानले विदेश यात्राका लागि जोधपुर जिल्ला प्रशासन र अदालतमा निवेदन दिएका थिए। जोधपुर अदालतले खानलाई विदेश यात्राका लागि अनुमति दिएको थियो। मे २५ देखि जुलाई १० को बीचमा सलमान क्यानडा, नेपाल र अमेरिकाको यात्रा गर्ने कार्यक्रम थियो।
Comments