काठमाडौं, २२ कार्तिक । आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५ जना कलाकर्मी उम्मेदवार बनेका छन् । उम्मेदवार बन्नेमा करिश्मा मानन्धर, प्रदीप कुमार उदय, नवल खड्का, राज घिमिरे र मदुकुमार श्रेष्ठ रहेका छन् ।
नेपाली चलचित्रमा सदाबहार नायिकाको छवि बनाएकी करिश्मा मानन्धर नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बनेकी छिन् । प्रतिनिधिसभातर्फ उनको नाम समानुपातिक सूचीमा एक नम्बरमा राखिएको छ । नयाँ शक्ति पार्टीले देशभर खसेको कूल मतबाट ३ प्रतिशत मत ल्याउन सफल भए उनी प्रतिनिधिसभा सांसद बन्नेछिन् ।
निर्माता, प्रदर्शक र बितरकको परिचय प्रदीप कुमार उदय राप्रपा प्रजातान्त्रीका तर्फबाट प्रदेश नम्बर ५ को प्रदेश सदस्यका उम्मेदवार बनेका छन् । राप्रपा प्रजातान्त्रीक्का केन्द्रीय प्रवक्ता समेत रहेका उनी अहिले चुनाव प्रचार प्रसारमा होमिइ सकेका छन् ।
चलचित्रका नायक तथा निर्माता नवल खड्काको नाम नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं. १ बाट प्रदेशसभा तर्फ समानुपातिकको बन्दसूचीमा समावेश गरिएको छ ।
चलचित्र ‘चपली हाइट’बाट अभिनयमा देखिएका राज घिमिरेलाई माओवादी केन्द्रले प्रदेश नम्बर ३ ललितपुर जिल्लाको क्षेत्र १ बाट समानुपातिकमा सिफारिस गरेको छ । स्थानीय तहको निर्वाचनमा पनि ललितपुरकै गोदावरी नगरपालिका वडा नं ३ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका उनी थोरै मतको अन्तरलले पराजित भएका थिए ।
नायक तथा निर्माता मदुकुमार श्रेष्ठ नेपाली काँग्रेस धादिङ क्षेत्र न १ को प्रदेश सभा (क)को प्रदेश सभासदका प्रत्यक्ष उम्मेदवार बनेका छन् । बामगठबन्धनबाट अगाडि आएका राजेन्द्र पाण्डेका उनी प्रतिद्वन्द्वी हुन् ।
पाँच कलाकार बने उम्मेदवार
0
Share.
Comments