काठमाडौं । आगामी जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । आस्थाका रूपमा रहेका भगवान र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमुख कलाकारद्वय मुकुन भुसाल र मेनुका प्रधान समावेश छन् । गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ ।
निर्देशक सविन अधिकारीले यो चलचित्रले नेपाली समाजको चरित्र चित्रण गर्ने बताए । यो चलचित्रमा निर्देशनसँगै लेखन पनि सविन अधिकारीको नै छ । मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको अभिनय छ ।
‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रमा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाइ छ ।
यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।
प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार
Comments