काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ ५:३० बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने लक्ष्यमा हुनेछ । बंगलादेश पनि उपाधि उचाल्न चाहन्छ । यस अघि लिग चरणको खेलमा नेपाल र बंगलादेशबीच गोलरहित बराबरी भएको थियो ।
हेड टु हेड कस्तो ?
बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।
नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । ४ खेल बराबरीमा सकिएको छ ।
सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
त्यसपछि नेपालले बंगलादेशसँग साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप र साउथ एसियन गेम्स (साग) ७-७ पटक भिडेका छन् ।
यस्तै ४ मैत्रीपूर्ण खेल खेल्दा एसियन गेम र एएफसी एसियन कपमा एक एक पटक प्रतिस्पर्धा गरेका छन् ।
पछिल्लो पटक नेपालले ढाका साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएको थियो ।
२०७५ सालको भदौंमा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।
त्यसपछि नेपालले गत कात्तिकमा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक हार व्यहोरेको थियो भने एक खेल बराबरी खेलेको थियो ।
पछिल्लो ६ भेटमा नेपालले बंगलादेशसँग १ जित निकाल्दा ३ बराबरी र २ हार व्यहोरेको छ ।
प्रकाशित मितिः २०७७ चैत्र १६ सोमवार
Comments