काठमाडौं । १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत १० किमी दौडमा पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ फूलमति रानाले उपाधि जितेका छन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको प्रतियोगितामा भारतीय सेनामा कार्यरत तीर्थ पुनले ३३ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेका हुन् ।
त्यस्तै नेपाली सेनाका जितेन्द्र दनुवार (३४ मिनेट ७ सेकेण्ड) र काठमाडौंका शिवबहादुर रायमाझी ९३४ मिनेट २२ सेकेण्ड० तेस्रो भए । उनीहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँसहित मेडल जिते ।
महिलातर्फ उपाधि विजेता सशस्त्र प्रहरी बलकी फूलमती रानाले ४० मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पूरा गरिन् ।
त्यस्तै, धरानकी छेन्वी राई (४२ मिनेट १ सेकेण्ड) र सशस्त्र प्रहरी बलकी आशा रावत (४३ मिनेट ५२ सेकेण्ड) क्रमशः दोस्रो र तेस्रो भए । प्रथम, दोस्रो र तेस्रोले १५, १० र ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् ।
पोखरा रंगशालाबाट सुरु दौडको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरेका गरेका थिए । उनले दौडमा भाग लिएका ७४ वर्षीय टंकबहादुर श्रेष्ठको हौसलाको कदर गर्दै १० हजार प्रदान गर्ने घोषणा गरे ।
दौड पोखराका विभिन्न भाग परिक्रमा गरी चिप्लेढुंगा पुगेर समापन भएको हो । प्रतियोगितामा १७ जिल्लाका धावकमध्ये पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ जनाले भाग लिएको आयोजक मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।
पोखरा म्याराथन अन्तर्गत आगामी ४ वैशाखमा ५ किमी छात्रछात्रा दौड हुनेछ ।
प्रकाशित मितिः २०७७ चैत्र १४ शनिवार
Comments