काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो । युनाईटेड समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाईटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए ।
मिलानको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा पोग्बाले गोल गरेका हुन् । जुन गोल युनाईटेडको जितमा निर्णायक बन्यो ।
पोग्बाले मैदान छिरेको तीन मिनेट पछि नै गोल गरेका हुन् । फ्रान्सका पोग्बा ४६ औं मिनेटमा मार्कुस राषफोर्डको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यस्तै स्पेनिस क्लब ग्रानडा, भिल्ला रियलले अन्तिम आठमा स्थान बनाउँदा आयाक्स पनि अन्तिम आठमा प्रवेश गरेको छ । रोमाले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र ६ शुक्रबार
Comments