काठमाडौं । काठमाडौँ मेयर कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो काठमाडौँ मेयर कपको उपाधि जितेको हो ।
एपीएफले दिएको १०६ रनको लक्ष्य पछाएको पुलिस क्लबले २४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रन बनाए भने कुशल भुर्तेल र अनिल शाहले १५-१५ रन बनाएका थिए ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित ११ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको एपीएफले २९।४ ओभरमा अल आउट हुदै १०५ रन बनाएको थियो । एपीएफका लागि बसन्त रेग्मीले सर्बाधिक २२ रन बनाएका थिए भने सन्दीप जोरा र अमर राउटेलाले १८-१८ रन बनाए । त्यस्तै भुवन कार्कीले १४ रन बनाए भने अविनाश बोहोराले १२ रन बनाएका थिए ।
त्यस्तै शंकर राणाले ४, आसिफ सेख र कप्तान शरद भेस्वाकर शुन्यमा, सुमित महर्जन ४, कमल ऐरी र किशोर महतो १-१ रन बनाएर आउट भएका थिए । एपिएफलाई सस्तैमा आउट गर्नेक्रममा पुलिस क्लबका बलर गुलसन झा र सागर ढकालले ४-४ विकेट लिए भने पवन सराफ र ललित राजबंशीले एक एक विकेट लिए ।
प्रकाशित मितिः २०७७ फागुन २९ शनिबार
Comments