काठमाडौं । कोरोना महामारीका कारण चल्दाचल्दै अनिश्चितकालका लागि स्थगित भएको पाकिस्तान सुपर लिग (पीएसएल) आउँदो जुनमा हुने भएको छ। गत फेब्रुअरी २० बाट सुरु भएको प्रतियोगिता १४ खेलपछि मार्च ४ मा स्थगित भएको थियो।
मार्च ३ मा गरिएको कोभिड–१९ टेस्टमा तीन खेलाडी थपिएसँगै पीएसएल खेल्ने ६ खेलाडीसहित बायोसेक्योर बलमा रहेका सातजनालाई कोरोनाको संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि पीसीबीले फ्रेन्चाइज क्लबसँगको सहमतिमा प्रतियोगिता स्थगित गरेको बताएको थियो।
३४ खेलको प्रतियोगितामा अझै २० खेल बाँकी छन्। अब बाँकी २० खेल जुनमा सुरु गर्ने पीसीबीले बताएको छ। उसले सबै फ्रेन्चाइजसँग भर्चुअल मिटिङ गर्दै अढाइ महिनापछि प्रतियोगिता पुनः सञ्चालन गर्न लागेको हो । नेपालका सन्दीप लामिछाने पनि लाहोर कलन्दर्सबाट पीएसएलमा सहभागी बनेका छन्। दुई खेलपछि पाकिस्तान पुगेका उनले खेलमा सहभागिता जनाउन पाएनन्।
प्रकाशित मितिः २०७७ फागुन २८ शुक्रबार
Comments