काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुटबलर निरु थापालाई सम्मान गरेको छ । लामो समयदेखि राष्ट्रिय महिला फुटबल टिमकी नियमित सदस्य रहेकी निरुलाई महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको एन्फाले जनाएको छ ।
उनी नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् । निरु टिमकी कप्तान पनि हुन् । एन्फाले नारी दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा सन्ट जेभियर स्कुलका विद्यार्थीले सहभागिता जनाएका थिए । सोही कार्यक्रममा निरुलाई सम्मान गरिएको हो ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले महिलाको शक्तिकरणमा फुटबलले विशेष भुमिका खेलेको बताए । उनले महिला फुटबलको विकासका लागि दूरदर्शी र टिकाउ योजना पनि बनाइने प्रतिवद्धता शेर्पाले जनाए।
प्रकाशित मितिः २०७७ फागुन २३ सोमबार
Comments