काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युवा क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा ब्वाइज युनियनले ३-० गोलअन्तरले जित निकालेको हो।
ब्वाइज युनियनको जितमा मिलन लिम्बूले ह्याट्रिक पुरा गरे। खेलको २१ औं मिनेटमा टिमलाई अग्रता दिलाएका लिम्बूले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दा पहिलो हाफमा ब्वाइज युनियन दुई गोलले अघि रह्यो। दोस्रो हाफमा उनले फेरि एक गोल थपे। खेलको ५७ औं मिनेटमा गोल थप्दै लिम्बूले ह्याट्रिक पुरा गर्दा बोइज युनियनले ३-० को सहज जित निकाल्यो।
जितसँगै ८ खेलबाट १४ अंक जोडेको ब्वाइज युनियनले तेस्रो स्थानको बाँसबारी क्लबसँग अंकदुरी घटाउँदै चौथो स्थानमा यथावत रहेको छ। तेस्रो स्थानमा रहेको बाँसबारीको १५ अंक छ। त्यस्तै नयाँबस्ती ८ खेलबाट ११ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ।
प्रकाशित मितिः २०७७ फागुन १६ आइतबार
Comments