काठमाडौं । कोपा इटालियामा सर्वाधिक धेरै पटकको उपाधि विजेता युभेन्टस सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा एसपिएएलमाथि ४–० गोलको शानदार जित निकाल्दै युभेन्टस अन्तिम चारमा पुगेको हो ।
युभेन्टसको मैदान युभेन्टस स्टेडियममा घरेलु टोलीको जितमा अल्भारो मोरोटा, जियानलुका फ्राबोट्टा, डेजान कुलुसेस्की र फेडेरिको चिसाले समान एक–एक गोल गरे । खेलको १६औं मिनेटमा मोरोटाले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए ।
३३औं मिनेटमा फ्राबोट्टाले गोल गरेपछि पहिलो हाफभरि युभेन्टसले २–० गोलको अग्रता बनायो । ७८औं मिनेटका कुलुसेस्की र खेलको इन्ज्युरी समयमा चिसाले गोल गर्दै युभेन्टसलाई ४–० गोलको शानदार जित दिलाए ।
जितसँगै युभेन्टस सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । अब, युभेन्टसले फाइनलका लागि इन्टर मिलानसँग खेल्नेछ । पहिलो लेगको सेमिफाइनल खेल ३ फेब्रुअरीमा हुनेछ भने दोस्रो लेग १० फेब्रुअरीमा हुनेछ । दुवै लेगमा जित निकाल्ने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ ।
गए राति नै भएको अर्को खेलमा अटलान्टाले लाजियोमाथि ३–२ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । एजेन्सी
प्रकाशित मितिः २०७७ माघ १५ बिहिबार
Comments