काठमाडौं । इटालियन सिरी ए मा लिग लिडर एसी मिलान पराजित भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलान एट्लान्टासँग ३–० ले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा एसी मिलानले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल खाएको हो ।
एट्लान्टाका लागि २६ औँ मिनेटमा क्रिष्टियन रोमेरो, ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोसिप इलिसिक तथा ७७ औँ मिनेटमा डुभान जापाताले गोल गरेका हुन् ।
पराजित भएको एसी मिलानको १९ खेलबाट ४३ अंक भएको छ ।
यसैबिच दोस्रो स्थानको इन्टर मिलानले अंक बराबरी गर्ने मौका गुमाएको छ । शनिबार राति नै भएको खेलमा इन्टर मिलान युडिनेससँग गोलरहित बराबरीमा रोकियो । उसको १९ खेलबाट ४१ अंक भएको छ ।
स्पेजियालाई ४–३ ले पराजित गरेको रोमा १९ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ भने ३६ अंकसहित एट्लान्टा चौथो स्थानमा उक्लेको छ । एजेन्सी
Comments