काठमाडौं । स्पेनिस सुपर कपको उपाधिका लागि आज राति क्याटलान क्लब बार्सिलोना र एथ्लेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार सेभियामा राति १ः४५ बजे हुनेछ । बिल्वाओलाई हराउदै बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । तर, टोलीका कप्तान लियोनेल मेस्सीले बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्युन छ । चोटका कारण मेस्सी प्रशिक्षणमा सामेल छैनन् । प्रशिक्षक रोनाल्ड कोम्यान मेस्सीलाई खेलाएर जोखिम मोल्ने पक्षमा छैनन् ।
टोलीसँग एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, मार्टिन ब्रेथवेट, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन जस्ता खेलाडी रहेको छ ।
बार्सिलोनाले रियल सोसिडाडमाथि पेनाल्टी सुटआउटमा ३–२ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित समयको खेल १–१ गोल र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
यता, सेमिफाइनलमा साविक विजेता रियल म्याड्रिडलाई हराएर हौसिएको एथ्लेटिक बिल्वाओ बार्सिलोनालाई पनि स्तब्ध पार्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा हुनेछ । टोलीसँग राहुल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, ड्यानी गार्सिया, ओस्कार डि मार्कोस, इनिगो मार्टिनेज, युनाइ नुनेज, एन्डर कापा र गोलरक्षक युनाई सिमोन रहेका छन् ।
स्पेनिस फुटबल फेडेरेसनले गत वर्षदेखि चार टोलीको अवधारणा अघि सारेको थियो । यसवर्ष ला लिगाको विजेता रियल म्याड्रिड र बार्सिलोना र कोपा डेल रेको विजेता रियल सोसिडाड र एथ्लेटिक बिल्वाओले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मितिः २०७७ माघ ४ आइतबार
Comments