काठमाडौं । राजधानी काठमाडौंमा शुक्रबारबाट सुरु भएको एक दिवसीय प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमै शतक प्रहार भएको छ । चौथौ संस्करणको प्रधानमन्त्री कपको उद्घाटन खेलमा गण्डकीविरुद्ध शतक प्रहार गर्ने खेलाडी हुन आर्मीका कप्तान विनोद भण्डारी ।
प्रधानमन्त्री कपमा विनोदको यो पहिलो शतक हो । उनले खेलको ४८ औं ओभरको अन्तिम बलमा गण्डकीका कप्तान विपिन खत्रीको बलमा छक्का प्रहार गर्दै आफ्नो पहिलो शतक पूरा गरेका हुन् ।
७२ रनमा २ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका भण्डारीले शतक प्रहार गर्न ७२ बल लगाए जसमा ९ चौका र ४ छक्का सामेल थियो । उनी ७६ बलमा ९ चौका र ५ छक्काको मदतले १११ रनमा अविजित रहे ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ बनायो । आर्मीलाई ठूलो योगफल बनाउन ओपनर राजु रिजालले ४२, लोकेश बमले ४२ रनको योगदान दिए ।
गण्डकी लागि विपिन खत्री र विशाल पौडेलले समान २–२ तथा दिपेश खत्री र चन्द्र पौडेलले समान १–१ विकेट प्राप्त गरे ।
प्रकाशित मितिः २०७७ माघ ०२ शुक्रबार
Comments