काठमाडौँ। जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।शुक्रबार राति भएको खेलमा बायर्न बोरुसिया मन्छेनग्लाडबाखसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो । मन्छेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्नले २० औं मिनेटमा अग्रता बनाएको थियो । खेलको २६ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।
तर, घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ३६ औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै घरेलु टोलीलाई २-१ को स्थितिमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा जोनासले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ४९ औं मिनेटमा फ्लोरियन नेउहुसले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३-२ को जित दिलाए ।
जितसँगै मन्छेनग्लाडबाखले १५ खेलमा २४ अंक जोडेको छ । मन्छेनग्लाडबाख सातौं स्थानमा रहेको छ । बायर्नले १५ खेलमा ३३ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
Comments