काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सातौं पटक पिचिचि ट्रफी जितेका छन् । २०१९–२० ला लिगाको सर्वाधिक गोलकर्ता रहँदै अर्जेन्टिनी स्टार मेस्सीले पिचिचि अवार्ड जितेका हुन् ।
अघिल्लो सिजनको ला लिगामा २५ गोल गरेका मेस्सीले प्रतिद्वन्द्वी क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमालाई उछिन्दै सो अवार्ड जितेका हुन् । यससँगै मेस्सीले सर्वाधिक धेरै सातौं पटक पिचिचि अवार्ड जितेका छन् ।
उनी ला लिगाको इतिहासमा सबैभन्दा धेरै पिचिचि अवार्ड जित्ने खेलाडी पनि बनेका छन् । उनले २००९–१०, २०११–१२, २०१२–१३, २०१६–१७, २०१७–१८, २०१८–१९ र २०१९–२० गरी सात पटक पिचिचि अवार्ड जितेका छन् ।
३३ वर्षीय मेस्सीले स्पेनिस खेलाडी टेल्मो जारालाई उछिन्दै कीर्तिमान बनाएका हुन् । जाराले छ पटक पिचिचि अवार्ड जितेका थिए ।
त्यसबाहेक अल्फ्रेडो डी स्टेफानो, कुइनी, हुगो सान्चेजले समान पाँच–पाँच पटक पिचिचि अवार्ड जितेका छन् भने क्रिस्टियानो रोनाल्डोले तीन पटक जितेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ पौष ०७ मंगलबार
Comments