काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा आजराती क्रिस्टियानो रोनाल्डोको युभेन्टस र लियोनल मेसीको बार्सिलोनाबीच प्रतिष्पर्धा हुने भएको छ । क्याम्प नाउमा हुने खेलमा घरेलु टोली बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्टसका स्टार किस्टियानो रोनाल्डो आमनेसामने हुनेछन्।
खेल आजराती नेपाली समय अनुसार पौने दुई बजे सुरु हुने छ । लिग अन्तर्गत समूह जीमा दुवै टोलीले अन्तिम १६ को यात्रा पक्का गरिसकेका छन् ।
यसअघि पनि युभेन्टसको घरेलु मैदानमा यी दुई टोलीबीच प्रतिस्पर्धा भए पनि रोनाल्डो उक्त खेलमा कोरोना संक्रमणका कारण सहभागी थिएनन्। उक्त खेलमा बार्सिलोनाले २-० गोलअन्तरले जित निकालेको थियो।
समूह जी बाट यी दुबै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। समूहमा बार्सिलोना १५ अंकसहित शीर्षस्थानमा छ भने युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ। यसअघि मेस्सी र रोनाल्डो सन् २०१८ मा आमनेसामने भएका थिए। त्यतिबेला रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडमा थिए।
युभेन्टसलाई समूह विजेता बन्न कम्तिमा ३ गोल प्रहार गर्नुपर्नेछ । दुई गोलको अन्तरले जिते मात्र युभेन्टस अंक तालिकाको शीर्षस्थानमा पुग्नेछ ।
बार्सिलोना भने अपराजित यात्रा कायम राख्दै समूह विजेताको रुपमा अर्को चरण पुग्ने प्रयासमा हुनेछ । मेस्सीले ६ पटक ब्यालोन डी’ओर उपाधि जितेका छन् भने रोनाल्डोले ५ पटक सो उपलब्धि हासिल गरेका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर २३ मंगलबार
Comments