काठमाडौं । इंग्लिस क्लब टोटेनहम र इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन्। एसी मिलानले आफ्नो घरेलु मैदानमा सेल्टिकलाई ४–२ गोलअन्तरले पराजित गर्दै युरोपा लिगको अन्तिम ३२ मा स्थान बनाएको हो।
पहिलो हाफमा २–२ गोलको बराबरी खेलेको एसी मिलानले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो। खेलको सुरुवाती समयमा नै सेल्टिकले दुई गोल गर्दै एसी मिलानविरुद्ध २–० गोलको अग्रता बनाएको थियो। तर एसी मिलानले उत्कृष्ट पुनरागमन गर्दै चार गोल गर्न सफल भयो।
यता, इंग्लिस क्लब टोटेनहमले भने लास्कसँग ३–३ गोलको बराबरी खेले पनि अन्तिम ३२ मा स्थान बनाएको हो। टोटेनहमले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाएको हो। त्यस्तै, यसअघि नै युरोपा लिगको नकआउट चरणमा प्रवेश गरिसकेको आर्सनलले आफ्नै मैदानमा र्यापिड वियनालाई ४–१ गोलअन्तरले पराजित गरेको हो। अर्को खेलमा इंग्लिस क्लब लेस्टर सिटी पभने जोर्या लुहानस्कसँग १–० गोलले पराजित भएको छ।
समूह ‘एच’ मा रहेको एसी मिलानले जितसँगै पाँच खेलबाट १० अंक बनाउँदै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। यो समूहबाट फ्रेन्च क्लब लिली पनि यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। लिलीको पाँच खेलबाट ११ अंक छ।
समूह ‘जे’ मा रहेको टोटेनहमले पाँच खेलबाट १० अंक बनाउँदै अन्तिम ३२ मा पुगेको हो। यहि समूहबाट बेल्जियमको रोयल एन्टवेर्प पनि जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। रोयलको पाँच खेलबाट १२ अंक छ।
प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार
Comments