काठमाडौं । क्रिष्टियानो रोनाल्डोले खेल जीवनको ७५० औँ गोल गरेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा डिनामो कियभलाई ३-० ले पराजित गर्ने क्रममा रोनाल्डोले ५७ औँ मिनेटमा युभेन्टसका लागि गोल गरे ।
सो गोल उनले क्लब र राष्ट्रिय टिमबाट गरेको ७५० औँ गोल बन्यो । रोनाल्डो भन्दा पहिले २१ औँ मिनेटभमा चिएसा र ६६ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरी समूह जी अन्तर्गतको खेलमा पिएसजीलाई जित दिलाए । जितपछि युभेन्टस १२ अंकसहित समूहको दोस्रो स्थानमा छ ।
बुधबार राति नै भएको खेलमा फेरेन्क्वारोसी टिसीलाई ३-० ले पराजित गरेको बार्सिलोना १५ अंकसहित समूहको शीर्ष स्थानमा कायम छ । बार्सिलोना र युभेन्टसले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
कियभमा भएको युभेन्टसको खेलको रेफ्री स्टेफानी फ्रापर्ट थिइन् । उनी पुरुष फुटबलको च्याम्पियन्स लिगमा रेफ्री बन्ने पहिलो महिला हुन् ।
रोनाल्डोले रियल मड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि १०२, युभेन्टसका लागि ७५ तथा स्पोर्टिङ्ग लिस्बोनका लागि पाँच गोल गरेका छन् ।
यसैबिच समूह एफ अन्तर्गत बुधबार राति नै भएको खेलमा लाजिओसँग १-१ को बराबरी खेलेको बोरुसिया डर्टमुण्डले अन्तिम १६ मा स्थान बनाएको छ । अर्को खेलमा क्लब ब्रुगले जेनिट सेन्ट पिटर्सबर्गलाई ३-० ले पराजित गरेको छ ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments