काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । लोरी सानेको नाममा एक गोल रह्यो । युक्रेनका रोमन यारिमचुकले एक गोल फर्काए ।
सुरुवाती अग्रता भने युक्रेनले बनाएको थियो । खेलको १२ औं मिनेटमा रोमनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर,२३ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ३३ औं मिनेटमा वेर्नेरले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४ औं मिनेटमा वेर्नेरले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-१ को जित दिलाए ।
जितसँगै जर्मनीले नेसन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिग ए समूह ४ को शीर्ष स्थानमा रहेको जर्मनीले ५ खेलमा ९ अंक जोडेको छ ।
जर्मनीले अब समूह चरणको अन्तिम खेलमा स्पेनसँग खेल्नेछ । युक्रेन ६ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ३० आइतबार
Comments