काठमाडौं । सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शेख जायद क्रिकेट स्टेडियममा आइतबार राति भएको दोस्रो क्वालिफायरमा हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो ।
दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनायो ।
हैदराबादका लागि केन विलियम्सनले ६७, अब्दुल समादले ३३, राशिद खानले ११, मनिस पाण्डेले २१, प्रियान गार्गले १७, जासन होल्डरले ११ रन र कप्तान डेभिड वार्नरले २ रन बनाए । दिल्लीका कागिसो राबडाले ४, मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले ७८, शिम्रन हिटमायरले अविजित ४२, मार्कुस स्टोनिसले ३८, कप्तान श्रेयस एयरले २१ रन बनाए । हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए ।
यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ । अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २४ सोमबार
Comments