काठमाडौँ । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले शानदार जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा आर्सनलले पुनरागमन जित निकालेको हो । इमिरेट्स स्टेडियममा २२औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए ।
तर, ४५औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी पुग्यो । खेलको ६२औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २-१ को अग्रता बनायो ।
७०औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए । ८८औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४-१ को जित दिलाए । जितसँगै आर्सनलले लगातार तेस्रो जित निकाल्दै ९ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार
Comments