काठमाडौं। ब्राजिली स्टार नेयमार पुन केही साता मैदान बाहिर रहने भएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड कम्तिमा नोभेम्बरको अन्तराष्ट्रिय ब्रेकसम्म मैदान बाहिर रहने भएका हुन् ।
२८ वर्षिया फरवार्डले च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा चोट बोकेका थिए । गत बुधबार भएको च्याम्पियन्स लिगको खेलमा पीएसजीले इस्लानबुल बासाकेशिरलाई २–० ले हराएको थियो ।
खेलको सुरुवातमै नेयमार चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । टर्की क्लबविरुद्ध लोनमा पीएसजी आएका मोइन केनले फ्रान्सेली क्लबका लागि दुई गोल गरेका थिए । उनी एभर्टनबाट यसै सिजन लोनमा पीएसजी आएका हुन् ।
‘ग्रोइन’मा चोट बोकेका नेयमार भने केही हप्ता मैदान बाहिर रहने भएका हुन् ।
‘हामी निराश छौ ।’ प्रशिक्षक थोमस टुचेलले भने, ‘उनलाई एक सानो चोट लागेको छ । उनी अन्तराष्ट्रिय ब्रेकपछि फर्किनेछन् । मलाई लाग्दैन, उनी ब्राजिलका लागि खेल्न सक्नेछन् । हामीसंग जुन जानकारी छ, उनी ब्रेकपछि फर्कनेछन् ।’
अन्तराष्ट्रिय ब्रेक अघि पीएसजीले तीन म्याच खेल्नेछ । लिग वानमा शनिबार पीएसजीले नान्टविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपेजिग र अर्को शनिबार रेनेसविरुद्ध खेल्नेछ ।
ब्राजिलका अन्तराष्ट्रिय फरवार्ड सन् २०१७ मा कीर्तिमानी मुल्यमा पीएसजी आएका थिए । प्रशिक्षक टुचेलले लिग वानको नोभेम्बर २० मा हुने मोनाकाविरुद्धको खेलमा नेयमार फर्कन सक्ने अपेक्षा गरेका छन् ।
‘उनलाई मैदान उतार्न आवश्यक थियो । अब हामीलाई एक समाधानका लागि प्रतिक्षा गर्न आवश्यक छ । यो गम्भिर चोट थिएन । तर उनले असहज महशुश गरिरहेका थिए । उनले केही खेल गुमाउन सक्छन् । तर यस विन्दुमा निश्चित हुन सक्ने अवस्था छैन ।’ टुचेलले भने ।
नेयमारले कोरोना कारण लिग वानको पहिलो खेल गुमाएका थिए । उनले पीएसजीका लागि यस सिजन ६ खेलमा २ गोल गर्नुका साथै ४ गोलको अवसर सिर्जना गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार
Comments