काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार (आज) बाट बङ्गलादेशसँगका दुई मैत्रीपूर्ण खेलका लागि तयारी स्वरुप राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण थाल्ने भएको छ । प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
नेपालका मुख्य प्रशिक्षक योहान कालिन मैत्रीपूर्ण खेलका लागि उपलब्ध नहुने भएपछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । कालिन हाल स्विडेनमानै छन् ।
किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ । प्रशिक्षणमा यसअघि नै विश्वकप तथा एसियाकप छनोटको बन्द प्रशिक्षण परेका खेलाडीलाई समावेश गराइनेछ ।
बालगोपालले यसअघि पनि नेपाली पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सम्हाली सकेका छन् । उनकै प्रशिक्षणमा गत वर्ष स्वदेशमै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष टिमले स्वर्ण तथा सन् २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि हात पारेको थियो ।
नोभेम्बर १३ र १७ मा तय भएको खेलका लागि नेपाली टोली नोभेम्बर ५ मा बङ्गलादेश प्रस्थान गर्नेछ । दुवै खेल ढाकास्थित बंगबन्धु राष्ट्रिय फुटबल मैदानमा हुनेछन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
Comments