काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई कारवाही हुनसक्ने देखिएको छ । कोरोना भाइरससम्बन्धी मापदण्ड तोडेको आरोपमा इटालियन सरकारले रोनाल्डोलाई कारवाही गर्नसक्ने देखिएको हो ।
अक्टोबर १३ मा ३५ वर्षीय रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय ड्युटीमा रहेका बेला कोरोना पोजिटिभ भएका उनमा कुनै लक्षण देखिएको थिएन । कोरोना पुष्टि भएपछि रोनाल्डो इटाली फर्किएका थिए ।
इटालीमा गरिएको अर्को परीक्षणमा पनि रोनाल्डोको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । पछिल्लो रिपोर्ट पनि पोजेटिभ आएपछि रोनाल्डोले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना र खास प्रतिद्वन्द्वी लियोनल मेस्सीविरुद्धको खेल गुमाउने भएका छन् ।
युभेन्टसले बार्सिलोनासँग च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी बुधबार हुने सो खेल युभेन्टसको मैदानमा हुनेछ ।
यूईएफए र इटालियन स्वाथ्य मापदण्डअनुसार कोरोनामुक्त भइ एक साता क्वारेन्टाइन बसेपछि मात्र खेलाडीले खेल खेल्न पाउनेछन् । अब कोरोना रिपोर्ट नेगेटिभ आएपनि रोनाल्डोले बार्सिलोनासँगको खेल खेल्ने छैनन् ।
यता, इटालीको खेलकुद मन्त्रालयले कोरोनासम्बन्धी मापदण्ड तोडेको आरोपमा अनुसन्धान थालेको छ । इटालियन खेलकुद मन्त्री भिनिसेन्जो स्पाडाफोराले रोनाल्डोमाथि कोरोना प्रोटोकल तोडेको आरोपमा अनुसन्धान सुरु भएको जनाएका हुन् ।
कोरोना संक्रमण भइ इटाली फर्किएका रोनाल्डोको आलोचना गर्दै उनले रोनाल्डोले कोरोना मापदण्ड पालना नगरेको दाबी गरे । कोरोना पोजिटिभ देखिएपछि उनलाई इटाली फर्किन अनुमति नभएकोमन्त्री स्पाडाफोराले उल्लेख गरे ।
यता, रोनाल्डोले भने सामाजिक सञ्जालमार्फत आफूले कोरोनासम्बन्धी मापदण्ड नतोडेको बताए । क्वारेन्टाइनमा रहेका रोनाल्डोले इन्स्टाग्राममा लाइभ भिडियो गर्दै भने, ‘मैले कोरोनासम्बन्धी प्रोटोकल तोडेको छैन । कोरोना मापदण्डलाई मैले अनुसरण गरेको छु । म सबै प्रक्रिया पालना गरेर नै पोर्चुगलबाट यहाँ आएको हुँ । म एयर एम्बुलेन्सबाट यहाँ आएका कारण कसैसँग मेरो सम्पर्क भएको छैन ।’ एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार
Comments