काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया सुरु भएको छ। काउन्सिलका अनुसार यसअघिका अध्यक्ष शशांक मनोहरको कार्यकाल सकिएपछि रिक्त स्थानमा पदपूर्ति गर्ने प्रक्रिया सुरु गरिएको हो। यसमा इच्छुकलाई नाम दर्ताका लागि यही अक्टोबर १८ सम्मको समय दिइएको छ।
आईसीसीका अनुसार आगामी डिसेम्बरसम्ममा सबै प्रक्रिया पूरा भई नयाँ अध्यक्ष चुनिनेछ। आईसीसीको अडिट समितीका अध्यक्षको स्वतन्त्र निगरानीमा नयाँ अध्यक्ष चयन प्रक्रिया सम्पन्न हुनेछ। उनले अक्टोबर १८ सम्म सम्भावित उम्मेदवारको नाम बुझाउनेछन्।
यसमा उम्मेदवार बन्न पूर्व वा वर्तमान निर्देशक हुनुपर्ने आईसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उम्मेदवार बन्न बोर्ड अफ डाइरेक्टरका सदस्यलाइ अर्का बोर्ड निर्देशकले अनुमोदन गर्न सक्नेछन्।
गत अगस्टमै सुरु भइसक्नुपर्ने चुनावी प्रक्रिया आईसीसीकै सदस्यबीच सहमति जुट्न नसक्दा ढिला भएको हो।
प्रकाशित मितिः २०७७ असोज २७ मंगलबार
Comments