काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो ।
सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६-१६ रन बनाए । कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २-२ विकेट लिए ।
यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।
जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । ७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २७ मंगलबार
Comments