काठमाडौं । मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरुलाई भारत सरकारले घोषणा गरेर पनि अहिलेसम्म पुरस्कार नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सागमा पदक जितेसँगै खेलाडीहरुलाई पुरस्कार दिने घोषणा खेल मन्त्री किरेण रिजेजुले त्यतिबेलै गरेका थिए।
खेल मन्त्रालयले पदक जितेका ३१२ खेलाडीलाई पुरस्कारको ३ करोड ७६ लाख ५० हजार रुपैयाँ दिन बाँकी छ। पछिल्लो समय खेल संघहरुले पुरस्कार दिलाउनका लागि मन्त्रालयमा लबिङ बढाएको बताइएको छ।
अघिल्लो साल नेपालबाट साग खेलेर खेलाडीहरु फर्किएपछि खेलमन्त्री रिजेजुले दिल्लीमा सम्मान कार्यक्रम राख्दै स्वर्ण पदक विजेता खेलाडीलाई डेढ लाख, रजतलाई एक लाख र कास्य जित्ने खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए।
पछिल्लो समय कोरोना महामारीका कारण खेलाडीसमेत समस्यामा परिरहँदा केही खेल संघले मन्त्रालयलाई पत्रसमेत पठाएको बताइएको छ। यद्यपि मन्त्रालयले जवाफ नदिएको बताइएको छ।
प्रकाशित मितिः २०७७ असोज २६ सोमबार
Comments