काठमार्डौ । बार्सिलोनाबाट बाध्य पारेर ‘निकालिएका’ लुइस स्वारेजले ला लिगा क्लब एथ्लेटिको मड्रिडमा शानदार डेब्यु गरेका छन् । स्वतन्त्र मूल्यमा बार्सिलोनाबाट एथ्लेटिको मड्रिड आएका स्वारेजले सो क्लबबाट ला लिगाको पहिलो खेलमै दुई गोल गरेका हुन् ।
लिग अन्तर्गत आइतबार राति भएको आफ्नो पहिलो खेलमा एथ्लेटिको मड्रिडले ग्रानाडालाई ६–१ ले पराजित गरेको हो । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले आफ्नो योजनामा स्वारेज नरहेको बताएका थिए ।
त्यसपछि स्वारेज एथ्लेटिको मड्रिडमा अनुबन्धित भएका हुन् । उनले एथ्लेटिकोबाट पहिलो खेलमा ८५ औँ र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरेका हुन् । ग्रानाडाका लागि मालिनाले ८७ औँ मिनेटमा एक गोल फर्काए ।
एथ्लेटिकोका लागि नवौँ मिनेटमा डिएगो कोस्टा, ४७ औँ मिनेटमा एन्जल कोरेया, ६५ औँ मिनेटमा जोआओ फेलिक्स र ७२ औँ मिनेटमा मार्कोस लोरेन्तेले गोल गरेका हुन् । लोरेन्तेको गोलका लागि स्वारेजले सहयोग गरेका थिए ।
७० औँ मिनेटमा मैदान छिरेका स्वारेजले त्यसको दुई मिनेटपछि नै गोलका लागि सहयोग गरे र त्यसपछि आफैले दुई गोल गरेका हुन् ३३ वर्षका स्वारेजले गएको शुक्रबार एथ्लेटिको मड्रिडसँग दुई वर्षको सम्झौता गरेका हुन् ।
६ वर्ष बार्सिलोनामा रहँदा उनले २८३ खेलमा १९८ गोल गरेर क्लबको सर्वाधिक गोलकर्ताको सूचिमा तेस्रो स्थानमा रहे । उनी एथ्लेटिको मड्रिडबाट डेब्यु खेलमै दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments