काठमाडौं । अहिले स्पेनिस महारथी बार्सिलोनामा आफ्ना अनुभवी खेलाडी लुइस स्वारेजलाई विदा गरेको विषयले ठूलो रुप लिइरहेको छ ।
केही दिन अगाडिमात्रै बार्सिलोनाबाट ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिड पुगेका स्वारेजका विषयमा क्रिया–प्रतिक्रिया चलिरहेको छ ।
यसमा कप्तान लियोनल मेस्सीले भावुक हुँदै स्वारेजलाई निकाल्ने निर्णयको विरोध जनाएका थिए । त्यसको जवाफमा नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले आफ्नो निर्णयले स्वारेजले क्लब छाडेको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् ।
उनले स्वारेजका विषयमा आफुलाई खराब मान्छेका रुपमा देखाउन खोजिएको आरोप लगाएका छन् । यस्तै उनले स्पष्ट के पनि भनेका छन् भने स्वारेज आफ्नो निर्णयले मात्रै बाहिरिएका होइनन् ।
कोइमयान प्रशिक्षकका रुपमा बार्सिलोना आएपछि उनको योजनामा स्वारेज नरहेको विश्लेषण स्पेनिस पत्रपत्रिकाहरुले गर्दै आइरहेका थिए ।
‘यसमा मलाई खराब देखाउन खोजिएको छ । स्वारेजलाई म सम्मान गर्छु, एउटा खेलाडी र व्यक्तिका रुपमा,’ प्रशिक्षक कोइम्यानले भनेका छन्, ‘मैले उनलाई भनेको थिए । यदि तिमी यहाँ रह्यौ भने तिमीलाई अप्ठेरो हुनेछ भनेको थिएँ, तर, उनी समूहमा रहन्थे ।’
शनिबारको प्रिम्याच कन्फरेन्समा बोल्दै उनले भने, ‘मैले क्लबमा आउने निश्चित हुँदाहुँदै केही निर्णय भइसकेका थिए । मैले ती निर्णयलाई समर्थन मात्रै गरेको हुँ । यो ममा मात्रै निर्भर थिएन ।’
कप्तान लियोनल मेस्सीले टिमका आफ्ना मित्र टाढा भएकोमा दुख व्यक्त गर्नु स्वभाविक भएको कोइम्यानले बताएका छन् । ‘मेस्सी आफ्ना मित्रले क्लब छाड्दा दुस्खी हुन सामान्य हो । लियो हरेकका लागि उदाहरण हुन्,’ उनले भने । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ११ आइतबार
Comments