काठमाडौं । बार्सिलोनामै बस्ने निर्णय गरेका लियोनल मेस्सी प्रशिक्षणमा फर्कने भएका छन् । सम्झौता अनुसार एक सिजन बार्सिलोनामै बस्ने निर्णय लिएका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी हुने भएका छन् ।
उनले बार्सिलोनाको बसाई अवधि भने क्लबमा आउने नयाँ अध्यक्षमा निर्भर रहनेछ । क्लबका लिजेन्ड ३३ बर्षिया खेलाडीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसंग भेट गरि अर्को समरसम्म बार्सिलोनामै बस्ने बिषय अवगत गराउनेछन् ।
स्पेनबाट आएका रिपोर्ट अनुसार मेस्सी पर्ख र हेरको अवस्थामा छन् । बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ । सोही निर्वाचनबाट वर्तमान अध्यक्ष जोसेप मारिया बर्टोमेउलाई प्रतिस्थापन गर्ने ब्यक्तिमा मेस्सीको भविष्य निर्भर रहनेछ ।
रिपोर्ट अनुसार मेस्सी तत्काल जारी विवादलाई थाती राखेर बार्सिलोनामा ध्यान केन्द्रित गर्न चाहन्छन् ।
कोरोना भाइरसपछि अबरुद्ध सिजन सुरु भएपछि रियल मड्रिड लिग लिडर बार्सिलोनालाई हराउँदै ला लिगाको उपाधि जितेको थियो । यस्तै, च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको थियो ।
पछिल्ला खराब नतिजा र क्लबको उपलब्धिहीन परियोजनाबाट दिक्क भएर मेस्सीले बार्सिलोना छाड्न चाहेको बताएका थिए । उनले सम्झौता अनुसार निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।
उनका पिताले समेत क्लबका अधिकारीसंग भेट गरि सम्झौता अनुसार मेस्सीलाई छाड्न अनुरोध गरेका थिए । तर क्लबले निशुल्क मेस्सीलाई छाड्न सक्ने समय सकिएको उल्लेख गर्दै अर्जेन्टिनी फरवार्ड अनुबन्धनका लागि ७ सय मिलियन युरोको रिलिज क्लज सक्रिय हुने बताएको थियो ।
पछिल्लो हप्तामात्र मेस्सीले क्लबसंग विवाद बढाउन नचाहेको उल्लेख गर्दै सम्झौता अनुसार थप एक बर्ष बार्सिलोनामै बस्ने निर्णय लिएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २२ सोमबार
Comments