काठमाडौं । अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले यूईएफए नेसन्स लिग फुटबलमा युक्रेनलाई हराएको छ । आईतबार राति भएको खेलमा फातीले ९५ बर्षको पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी बनेको खेलमा स्पेनले युक्रेनलाई ४–० ले हराएको हो ।
उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल रहे । फाती च्याम्पियन्स लिगको इतिहास र स्पेनिस लिगमा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् । पहिलो रोजाइमा मैदानमा उत्रिएका फाती नेसन्स लिगमा प्लेइङ सेटमा रहेर खेलको सुरुवात गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।
खेलमा अग्रता स्पेनले सर्जियो रामोसको दुई गोलमा लिएको थियो । तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई अघि बढाएका रामोसले २९ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई सहज अवस्थामा पुर्याएका थिए ।
रामोसले पछिल्ला १५ खेलमा स्पेनका लागि १० गोल गरेका छन् । ३४ बर्षका डिफेन्डरले देशका लागि २३ गोल पुरा गरेका छन् ।
म्यान्चेष्टर सिटीका नयाँ डिफेन्डर इरिक गार्सिया दोस्रो हाफमा बेकल्पिक खेलाडीको रुपमा स्पेनबाट डेब्यु गरे । खेल सकिन ६ मिनेट बाँकी रहदाँ सिटीका नयाँ खेलाडी फेरान टोरेसले भलिमार्फत स्पेनका लागि चौथो गोल गरेका थिए ।
गिनी बिसाउमा जन्मिएका फाती ५ बर्षको उमेरमा परिवार सहित स्पेन आएका हुन् । ८४ बर्षको ईतिहासमा उनी स्पेनका सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
पछिल्लो बिहिबार मात्र उनले जर्मनीबिरुद्धको खेलमा डेब्यु गरेका थिए । जुआन एराजुकिनले सन् १९२५ मा १८ बर्ष ३ सय ४४ दिनको उमेरमा स्विटरल्याण्डबिरुद्ध सबैभन्दा कम उमेरमा गोल गरेका थिए ।
गत आईतबार बुल्गेरियाबिरुद्ध वेल्सबाट खेलेका एथम अमपादु सबैभन्दा कम उमेरमा नेसन्स लिगको प्लेइङ सेटमा रहेर खेलको खुरुवाती गर्ने खेलाडी थिए । उनले सन् २०१८ मा १७ बर्ष ३ सय ५८ दिनको उमेरमा रिपब्लिक अफ आयरल्याण्डबिरुद्ध डेब्यु गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २२ सोमबार
Comments