काठमाडौं । रोनाल्ड कोम्यानले बार्सिलोनाको प्रशिक्षण सुरु गरेका छन् । नयाँ प्रशिक्षकको रुपमा नाउ क्याम्प सम्हाल्न आइपुगेको कोम्यानले सोमबारबाट बार्सिलोनाको प्रशिक्षण सुरु गरेका हुन् ।
बार्सिलोनाको पहिलो दिनको प्रशिक्षणमा लियोनल मेस्सी भने अनुपस्थित रहे । उनको क्लबसंगको विवाद जारी छ ।
क्विक सेटियन बर्खास्तमा परेपछि बार्सिलोनाले डच प्रशिक्षक कोम्यानलाई नाउ क्याम्पको जिम्मेवारी दिने निर्णय गरेको थियो । उनको पहिलो सत्रमा कप्तान तथा मुख्य खेलाडी मेस्सी अनुपस्थित रहे ।
अन्य खेलाडीलाई समावेश गर्दै कोम्यानले बार्सिलोनको प्रशिक्षण अघि बढाएका हुन् । प्रशिक्षणमा जेरार्ड पीके बल अघि बढाईरहेको देखिन्थे भने उसमान डेम्बेले नयाँ जर्सीमा अभ्यास गरेका थिए ।
मेस्सीले क्लबलाई फ्याक्समार्फत पत्र लेख्दै आफुले बार्सिलोना छाड्न चाहेको बताएका थिए । उनले पहिलो दिनको मेडिकल परिक्षण समेत अस्विकार गरेका थिए । मेस्सीले प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग आबद्ध हुन चाहेका छन् ।
प्रशिक्षणमा अनुपस्थित रहेका मेस्सीलाई बार्सिलोनाले अहिलेसम्म आर्थिक जरिवानाको निर्णय सुनाएको छैन । लगातार तीन दिन अभ्यास सत्रमा सहभागी नभएको खण्डमा खेलाडीलाई बिना तलब क्लबले निलम्बित गर्न पाउने नियम छ ।
ला लिगा र स्पेनिस खेलाडीबीच तीन दिनसम्म अभ्यासमा अनुपस्थित रहेको खण्डमा बिना तलब निलम्बन गर्न सक्ने र मासिक तलबबाट २५ प्रतिशत रकम कटौती गर्न मिल्नेछ ।
तर अन्तिम निर्णयको अधिकार क्लबसंग रहेको छ । मेस्सीका पिता जर्ज र क्लबका अध्यक्ष जोसेफ बार्टोमेउबीच यस हप्ताको अन्तिममा हुने छलफल अघि बार्सिलोनाले कुनैपनि निर्णय लिने सम्भावना नरहेको बताईएको छ ।
सेभिया जाने तयारीमा रहेका इभान राकिटिक समेत प्रशिक्षणमा अनुपस्थित थिए । क्लबले छाड्न चाहेका लुइस सुआरेज भने कोम्यानको पहिलो अभ्यास सत्रमा सहभागी थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १६ मंगलबार
Comments