काठमाडौं । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टी-ट्वान्टी खेल आज आइतबार हुँदैछ । म्यानचेस्टरमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् । दुबै टिम तीन खेलको सिरिजमा १-० को अग्रता बनाउँन चाहन्छ ।
तर, दुबै टिमलाई खराब मौसमको डर रहेको छ । किनकि पहिलो खेल वर्षाको कारण वासआउट भएको थियो । इंग्ल्यान्डले ब्याटिङ गरिरहदा पहिलो खेल वर्षाले प्रभावित गरेको थियो ।
खेल रोकिनु अघि इंग्ल्यान्डले १६ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ३१ रन जोडेको थियो । इंग्ल्यान्डका टम ब्यान्टनले ४२ बलमा ७१ रन बनाए । उनी टी-ट्वान्टीमा इंग्ल्यान्डका लागि अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने ।
यस्तै डाविड मालनले २३ तथा कप्तान इयान मोर्गनले १४ रन बनाएका थिए । पाकिस्तानका इमाद वासिम र शादब खानले २-२ विकेट लिएका थिए । तीन खेलको सिरिज अन्तर्गतको तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ । पाकिस्तानपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १४ आइतबार
Comments