काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘गुगल सर्च इन्जिन’मा कोरोना भाइरसलाई उछिनेका छन् । बार्सिलोना छोड्ने चर्चाका कारण अर्जेन्टिनी स्टार मेस्सीले गुगल सर्चमा कोभिड–१९ लाई उछिनेका हुन् ।
३३ वर्षीय मेस्सीले मंगलबार साँझ बार्सिलोनाको कार्यालयमा फ्याक्स पठाउँदै क्लब छोड्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए । सोही कारण चर्चित मेस्सीलाई गुगलमा खोज्नेको संख्या पनि बढेको छ ।
हाल विश्वभरि सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीलाई खोज्नेको संख्या कोरोना भाइरसको अपडेट हेर्नेको भन्दा धेरै छ । गुगल प्रख्यात सर्चमा मेस्सीले कोरोना भाइरसलाई २ प्रतिशतले उछिनेको बताइएको छ ।
गुगलमा प्रयोगकर्ताले कोरोना भाइरसलाई ८७ प्रतिशतले खोजेका छन् भने मेस्सीलाई ८९ प्रतिशतले खोजेका छन् । गुगलमा उनलाई बेलुका ८ बजेको समयमा धेरै खोजिएको पाइएको छ ।
स्पेनमा पछिल्ला ७ दिनमा मेस्सीको लोकप्रियता १ देखि ८२ प्रतिशतले बढेको एक अध्ययनले जनाएको छ । मंगलबार मेस्सीले क्लब छोड्ने समाचार बाहिरिएपछि सोही दिन क्याप नोउबाहिर समर्थकहरूले नाराबाजी गरेका थिए ।
मेस्सीको सरुवाको खबरपछि निराश बनेका समर्थकहरूले ‘मेस्सी बसून्’ र बार्टोमेउले ‘राजीनामा दिऊन्’ भन्दै नारा लगाएका थिए । छिल्लो समय मेस्सीको भविष्यका विषयमा फुटबल समर्थकहरूले चासो राखेको बताइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १२ शुक्रबार
Comments