काठमाडौं । गोन्जालो हिगुइनले सिरि ए क्लब युभेन्ट्स छाड्ने भएका छन् । क्लबका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले हिगुइनले क्लब छाड्ने बताएका हुन् ।
मौरिजियो सर्री बर्खास्तमा परेपछि अगष्ट ८ मा क्लबले पिर्लोलाई प्रशिक्षक बनाउने निर्णय गरेको थियो । ४१ वर्षका पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
उनले पाब्लो डिबाला क्लबमै रहने उल्लेख गर्दै हिगुइनले क्लब छाड्ने प्रष्ट पारे । ‘उनी महान च्याम्पियन हुन् । उनी महान खेलाडी हुन् । तर चक्र सकिएको छ ।’ पिर्लोले भनेका छन् ।
‘हामीले एक अर्काको आखाँमा हेर्यौ । हामीले छलफल गर्यौ र निर्णय गर्यौ । म उनलाई धेरै सम्मान गर्छु । तर हामीले अलग हुने निर्णय लिएका छौ ।’ उनले भने ।
हिगुइन युभेन्ट्सका तेस्रो महङ्गा खेलाडी हुन् । उनी सन् २०१६ मा कीर्तिमानी मुल्य ७५ मिलियन पाउण्डमा नापोलीबाट युभेन्ट्स आएका थिए ।
उनले १ सय ४९ खेलमा ६६ गोल गरेका छन् । उनी लोनमा चेल्सी र एसी मिलान समेत गएका थिए । अर्जेन्टिनी फरवार्ड डिबाला अन्य क्लबसंग समेत जोडिएका छन् । तर पिर्लोले उनलाई क्रिस्टियानो रोनाल्डोको पार्टनरको रुपमा राख्न चाहेका छन् ।
‘डिबाला बजारमा उपलब्ध हुने छैनन् । उनी मेरो लागि महत्वपूर्ण खेलाडी हुन् । उनी जति सक्दो चाँडो फर्कनेछन् । उनी क्लबको योजनाको अंश हुन् ।’ पिर्लोले भने । ‘रोनाल्डोसंग कुराकानी भएको छ । हामीले भूमिका र रणनीतिका बिषयमा छलफल गरेका छौ ।’ उनले थपे ।
पिर्लोले चार पटक सिरि एको उपाधि जितेका छन् । उनलाई जुलाईमा क्लबको यू २३ टिमको प्रशिक्षकमा नियुक्त गरिएको थियो । तर केही हप्तापछि सिनियर टिमका मुख्य प्रशिक्षक सर्री बर्खास्तमा परेपछि उनको बढुवा गरिएको हो ।
उनले आफ्नो डेब्यु सिजनमै सिरि एको उपाधि जित्ने लक्ष्य राखेका छन् । ‘मसंग सोच्नलाई समय छैन ।’ पिर्लोले भने । ‘यो सबै निकै चाँडो भयो । मैले आफुलाई यस भित्र हाले । सहि समयमा सहि ठाउँ भएको कारणले मैले निर्णय लिएको हुँ ।’ उनले भने ।
प्रकाशित मितिः २०७७ भदौ १० बुधबार
Comments