काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका लेजेण्ड फर्वार्ड लियोनल मेस्सीले क्लब छोड्ने मनसायसहित आग्रह पत्र बुझाएका छन्।
३३ वर्षका अर्जेन्टाइनी खेलाडी मेस्सीले फ्याक्स मार्फत क्लबलाई मंगलबार पत्र पठाएका हुन् । सो पत्रमा उनले आफ्नो सम्झौतामा रहेका व्यवस्थाहरुमा काम गरी आफूलाई तत्कालै लागु हुने गरी क्लब छोड्न पाउने व्यवस्था गर्न आग्रह गरेका छन् ।
बार्सिलोना अगस्ट १६ मा भएको च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएको थियो । त्यसपछि मेस्सी क्लबसँग अति निराश रहेका खबर आइरहेका छन्।
६ पटक बालोन डी’ओर अवार्ड जितेका मेस्सीले सन् २००४ मा बार्सिलोनाबाट डेब्यू गरेका थिए । उनले बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । अहिलेसम्म उनी बार्सिलोना बाहेक कुनै क्लबबाट खेलेका छैनन् ।
मेस्सीले आफ्नो सम्झौतामा रहेका व्यवस्थामा काम गर्न भने पनि बार्सिलोनाले सबै व्यवस्था अब समाप्त भएको र सन् २०२१ सम्मको सम्झौतामा उनलाई ७०० मिलियन युरोमा किन्न सक्ने व्यवस्था रहेको बताएको छ ।
मेस्सीले क्लब छोड्नका लागि आग्रह गरी पत्र बुझाएपछिको परिवेशबारे छलफल गर्न चाँडै नै बोर्डको बैठक बस्ने छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउको राजीनामा आएर चाँडै निर्वाचन गर्ने भएमा मात्रै मेस्सीले आफ्नो निर्णयबारे सोच्न सक्ने जनाइएको छ । तर मेस्सी भने बार्सिलोना छोड्न प्रतिबद्ध रहेको देखिएको छ जुनसुकै अवस्थामा पनि ।
मेस्सीले क्लब छोड्न चाहेको मनसायसहितको पत्र बुझाएको खबर सार्वजनिक भएपछि नाउ क्याम्प बाहिर समर्थकहरु भेला भएर बार्सिलोनाको बोर्डविरुद्ध तथा क्लबका कीर्तिमानी गोलकर्ता मेस्सीको समर्थनमा प्रदर्शन गरेका छन् ।
अब क्लब र मेस्सीबिच कानूनी लडाईँ सुरु हुने देखिएको छ । मेस्सीको सम्झौतामा जुन १० भन्दा पहिले जानकारी गराएमा स्वतन्त्र मूल्यमा क्लब छोड्ने अधिकार छ ।
सो मिति अहिले गुज्रिसकेको छ, त्यसकारण सो व्यवस्था गुज्रिएको विश्वास बार्सिलोनाको छ । तर मेस्सी र उनको टिमले भने कोरोना भाइरसको महामारीका कारण यो सिजन लम्बिएकाले आफ्नो सम्झौतामा रहेको व्यवस्थाको समय पनि थपिनु पर्ने तर्कमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १० बुधबार
Comments