काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको छ । राखेपले सोमबार एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।
राखेपले अर्को सूचना नआएसम्मका लागि खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको जनाएको छ । यस्तै राखेपले परिषद्बाट सम्पादन हुने अत्यन्त जरुरी काम बाहेक सबै कामहरु समेत बन्द गरिएको जनाएको छ ।
सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै विभिन्न खेलका खेलाडीहरु प्रशिक्षणमा फर्किएका थिए । कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले चैत ११ गतेबाट गरेको लकडाउन गत साउन ६ गतेबाट अन्त्य भएको थियो ।
यस्तै सरकारले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षणको लागि अनुमति दिएको थियो । तर, कोरोनाको जोखिम बढेको भन्दै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।
हालै स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना देखिएको थियो । यस्तै राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा रहेका एक खेलाडी र एपीएफ क्लबका २ खेलाडीमा कोरोना देखिएको थियो ।
प्रकाशित मितिः २०७७ भदौ २ मंगलबार
Comments