काठमाडौं । म्यान्चेष्टर सिटीका प्लेमेकर डेबिड सिल्भाले स्पेनिस क्लब रियल सोसिडाडसंग सम्झौता गरेका छन् । उनले स्पेनिस क्लबसंग दुई बर्षको सम्झौता गरेका हुन् ।
स्पेनिस मिडफिल्डरले प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीमा १० बर्ष बिताएका थिए । गत शनिबार लियोनसंग सिटी पराजित भएसंगै उनको इतिहाद बसाई सकिएको हो ।
३४ बर्षका मिडफिल्डर सन् २०१० मा भ्यालेन्सियाबाट सिटी गएका थिए । उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जिताउन योगदान गरे । इटालियन क्लब लाजियोले स्पेनका अन्तराष्ट्रिय खेलाडीलाई तीन बर्षको सम्झौताको प्रस्ताव गरेको थियो ।
उनले प्रिमियर लिगमा ३ सय ९ खेल खेल्दै ६० गोल गरेका थिए । र सिटीलाई सन् २०१३, १८, १८ र १९ मा प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले घरेलु कप प्रतियोगितामा ५७ खेल खेल्दै दुई एफ ए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड जितेका थिए ।
उनी सिटीबाट युरोपमा सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले ७० च्याम्पियन्स लिगको खेल खेलेका छन् । उनी स्पेनले सन् २०१० मा विश्वकप जित्दा टोलीका सदस्य थिए । उनले स्पेनबाट युरो २००८ र २०१२ को उपाधि समेत जितेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ०२ मंगलबार
Comments