काठमाडौं । अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका लियोनेल मेस्सी फुटबलबाट सर्वाधिक धनी खेलाडीको सुचिमा शीर्षस्थानमा रहेका छन् ।
फ्रान्स फुटबलले निकालेको तथ्यांकअनुसार मेस्सीले पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन सर्वाधिक धनी खेलाडीको शीर्षस्थानमा उभिएका हुन् । मेस्सीले २०१९ मा १२० मिलियन पाउन्ड कमाई गरेका छन् ।
रोनाल्डोले १०९ मिलियन पाउन्ड कमाएका छन् । मेस्सीले रोनाल्डोको भन्दा ११ मिलियन बढी कमाए । १०० मिलियनभन्दा बढी कमाई गर्ने खेलाडी मेस्सी र रोनाल्डोमात्रै रहेका छन् । उनीहरुले आफ्नो पारिश्रमिक, बोनस, विज्ञापन लगायत अन्य माध्यमबाट कमाई गरेका हुन् ।
ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार ८७ मिलियन कमाइसहित तेस्रो स्थानमा रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका ग्यारेथ बेल ३५.४५ मिलियनसहित चौथो स्थानमा रहेका छन् ।बार्सिलोनाका एन्टोइन ग्रिजमन ३५.२५ मिलियनसहित पाँचौ स्थानमा अटाउँदा बेल्जियन तथा रियल म्याड्रिडका इडेन हाजार्ड ३२.०६ मिलियन पाउन्डसहित छैटौं स्थानमा छन् ।
क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर तथा जापनिज क्लब भिसेल कोवीका आन्द्रेस इनिस्टा सातौं स्थानमा अटाउँदा इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ ३०.९६ मिलियनसहित आठौं स्थानमा छन् ।
जर्मन क्बल बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की २६.५६ मिलियन पाउन्डसहित नवौं स्थानमा रहँदा फ्रान्स तथा पीएसजीका युवा स्टार केलियन एमबाप्पे २४.७३ मिलियन पाउन्डसहित शीर्ष १० भित्र अटाएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments